Hiti - Pointed upwards at Luti, Kathmandu Ward 17

Hiti - Pointed upwards at Luti, Kathmandu Ward 17

Courtesy(From Facebook 20200623): 
Frannkey Franz to Newa: Community ( नेवा: समुदाय )

थस्व हिती ( माथि फर्किएको धारा)
काठमाडौ उपत्यकामा मात्र पाइने थस्व हिती नेवा: समुदायको मृत्यु संस्कारसँग जोडिएको एक महत्वपूर्ण धरोहर हो। सामान्यतया ढुंगेधाराहरु सिधा फर्किएको हुने भए पनि यो धारा आकाशतिर माथि फर्किएको हुनाले यसलाई स्थानिय भाषामा थस्व हिती भनिएको हो। प्राय जसो हरेक शक्तिपीठ र एकदम महत्वपूर्ण मन्दिरहरुमा रहने यो हिती, कतै १ वटा हुन्छ भने कतै ४ वटा हुने गर्दछ।
मृत्यु संस्कारसँग जोडिएको यस हितीमा मुख्यत दिवंगत पितृहरु तथा सोही वर्ष मृत्यु भएको व्यक्तिहरुको नाममा पानी चढाउने गरिन्छ। थस्व हितीमा दिवंगत भएकाहरुको सन्तानले पानी चढाएमा उनीहरुले स्वर्गमा पानी खान पाउने, तथा नर्कमा भए त्यहाँ पाएको सास्तीबाट मुक्ती पाउने जनविश्वास गरिन्छ। मृत्यु भएर अन्तिम संस्कारको लागि ब्रम्हनालमा सुताइएको लासलाई पनि थस्व हितिबाट अन्तिम पटक पानी खुवाउने प्रचलन रहेको पाइन्छ। थस्व हितीको माथिबाट पानी खन्याइ, तलबाट थापेर सो पानी अन्तिम पटक खुवाउने प्रचलन रहेको पाइन्छ ।
यसैगरी, थस्वहितीको सम्बन्ध नेवा: समाजमा प्रचलित देवगण नाचहरुसँग पनि रहेको पाइन्छ। श्री भद्रकालीको १२ बर्षे नाचबेलामा अन्तिम नाच नाचिसकेपछी देवगणहरुले सिजा ( मृत्युपछी छरिने भात) छरेर मुर्छ पर्दछन्। यसरी मुर्छा परेका देवगणहरुलाई बोकेर ल्याइ असनको थस्व हितीमा पानी चढाई, सो पानी छर्केर खुवाएर देवगणलाई ब्युँताउने गरिन्छ। विभिन्न स्थानमा रहेको थस्व हितीहरुको आफ्नो आफ्नै महत्वहरु रहेको पाइन्छ।
त्यसैगरी, मानन्धर समुदायले चलाउने परम्परागत तेल पेल्ने ठाउँमा पनि थस्व हिती जस्तै देखिने हिती माथि फर्काएर राख्ने गरिन्छ। स्थानिय भाषामा तेल पेल्ने ठाउँलाइ ` सा: , साल , चिकँ सा:´ आदि भन्ने गरिन्छ। चिकँ सा: हरुमा रहेको सो हितीलाई भने सा:द्य: अर्थात् सो स्थानको देवताको रुपमा पुज्ने गरिन्छ। तेल मिलमा हुने हितीलाई कसैले विश्वकर्मा र कसैले भैरवको रुपमा पुजा गरेको पाइन्छ भने आफ्नो आफ्नो चलन अनुसार दशैं र चैते दशैं गरि वर्षमा दुइपल्ट ठूलो पुजा गर्ने प्रचलन छ।
तस्बिरमा रहेको थस्व हिती, इन्द्रायणी मन्दिरको हो।
लेख र तस्बिर : Frannkey Franz

Comments